Advocating for Digital Rights and best practices in Nepal

सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संक्षिप्त विश्लेषण पत्र

Feb 13, 2025

२०८१ माघ १५ गते राष्ट्रियसभामा दर्ता भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङबाट माघ २७ गते राष्ट्रिय सभाको बैठकमा पेस भएको छ। यो विधेयक गत माघ ७ गते मन्त्रिपरिषद्ले संसदमा प्रस्तुत गर्ने भनी निर्णय गरेको थियो।  

यसअघि २०८० पुष १२ गते सूचना तथा सञ्चार मन्त्रालयले मस्यौदा विधेयक मन्त्रालयको वेबसाइटमा सार्वजनिक गर्दै सरोकारवालाहरूबाट सुझाव समेत आह्वान गरेको थियो। डिजिटल राइट्स नेपालले  नेपालको संविधान, अन्तर्राष्ट्रिय मानव अधिकार कानुन, सिद्धान्त तथा मापदण्डहरूका आधारमा उक्त मस्यौदा विधेयकको विश्लेषण गरी विधेयकमा सुधारका सिफारिसहरू समेत समेटिएको विश्लेषणपत्र सम्बन्धित मन्त्रालयमा बुझाएको थियो। सरकारबाट हाल राष्ट्रिय सभामा दर्ता भएको विधेयकमा डिजिटल राइट्स नेपालबाट दिइएका केही सुझावहरू समेटिएका छन् भने केही प्रावधानहरूमा कुनै सुधार भएको छैन। साथै  सरकारले प्रस्तुत विधेयकमा केही नयाँ प्रावधानहरू समेत राखेको छ। 

नेपाल सरकारद्वारा प्रस्तावित सामाजिक सञ्जाल विधेयक २०८१ ले समेटेका विषयवस्तु नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, सामाजिक सञ्जाल प्लेटफर्महरूको उत्तरदायित्व तथा जबाफदेहिता, इन्टरनेट तथा इन्टरनेट सामग्रीमा पहुँच जस्ता महत्त्वपूर्ण विषयहरूसँग सम्बन्धित रहेको छन् । विधेयकमा रहेको सामाजिक सञ्जाल सामग्रीसम्बन्धी अस्पष्ट निषेधात्मक व्यवस्था, फौजदारी गाली बेइज्जती सम्बन्धी व्यवस्था, प्लेटफर्म दर्ता सम्बन्धी व्यवस्था, प्लेटफर्मले पालना गर्नुपर्ने केही सर्तहरू, सामाजिक सञ्जालबाट सामग्री हटाउने सम्बन्धी व्यवस्था एवम् बेनामी वा छद्मभेषी पहिचानको अपराधिकरणसम्बन्धी व्यवस्थाले मूलभूत रूपमा विचार तथा अभिव्यक्ति स्वतन्त्रता, गोपनीयताको अधिकार, सूचनाको हक, सञ्चारको हक समेतमा असर पार्ने देखिन्छ।

यस सन्दर्भमा, यस संक्षिप्त विश्लेषण पत्रमा विधेयकका केही मुख्य प्रावधानहरूको विश्लेषण गरी सामाजिक सञ्जाल विधेयकमा सुधार गरिनुपर्ने पक्षहरूलाई स्पष्ट पार्दै सामाजिक सञ्जालको नियमनलाई संविधान र मानव अधिकारको सिद्धान्त अनुकूल बनाउन सुधारका उपायहरू समेत सुझावका रूपमा प्रस्तुत गरिएको छ।  विश्लेषण पत्र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

Digital Rights Nepal is a not-for-profit initiative dedicated to the protection and promotion of digital rights in Nepal.

Footer Image